Sunday, August 26, 2012

छोटा दुई किस्सा !!

माओवादी चढान् :))

संयोग हो कि के हो खोइ, एकीकृत नेकपा माओवादीका नेताहरूमा केही न केही चढ्ने लहर चलेको छ। अनि, त्यस्तो चढाइले कुनै न कुनै तरंग ल्याउने गरेको पनि छ। उदाहरणका लागि प्रधानमन्त्री हुनेबित्तिकै बाबुराम भट्टराईले नेपालमै उत्पादित मुस्ताङ गाडी चढे। मुस्ताङको चर्चा-परचिर्चा हुनसम्म भयो। त्यति मात्र होइन, भट्टराईले चितवनको चेपाङ बस्ती पुगेर ट्रयाक्टर पनि चढे। त्यसको पनि त्यत्तिकै चर्चा भयो। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'-पुत्र प्रकाश संविधानका लागि सगरमाथा चढे, बबालै भयो। सगरमाथा चढाइले संविधान त आएन तर प्रकाशलाई बिना मगर भने आइलागिन्। प्रधानमन्त्रीले मुस्ताङ र ट्रयाक्टर चढेपछि एकीकृत माओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको मन किन थामिन्थ्यो र ! उनले पनि राजधानीमा रात्रिबस चढे ।

Friday, June 29, 2012

एउटा दुखद् पानी -कथा


राति बाह्र बज्यो । निद्रा त कहाँ पुग्यो कहाँ ! बाहिर वर्षा रोकिएको छैन । अरू जोड-जोडले दर्केको छ । उछिट्टिएर झ्यालको चेप हुँदै बाछिटा कानसम्म आइपुग्यो । छटपटी बढ्यो । गाउँको बर्खे-परिदृश्य आँखावरिपरि नाचिरह्यो निरन्तर । विगतमा हराउनुको रोमान्स र विरक्तिको मध्यविन्दुमा अल्मलिएँ म ।
 ––    ––  ––    –– 
त्यहाँ पनि पानी नै छ । खोला-नाला, कुलो-खोल्सा, पाखा-पखेरा सबैतिर । छिपछिपे छपनी टेकेर गुन्यु उचाल्दै मेला जाँदाका दिन अब फेरि यो जुनीमा फर्केर आउलान् र खै ! गाउँको पानीले मकैका पात र स्याखु बजाउँछ, तर यता थोत्रा मिनिबस, सिमेन्टका छत र रेनकोटमा चित्त बुझाउनुपर्छ । उता पानीले भिजाउँछ पसिना उमार्ने खेत र आशा फुल्ने आली, तर यता त्यही पानीले घिसारेको छ ढलसँगै मिनरल वाटरका रित्ता बोत्तल ।

Sunday, June 17, 2012

तीन प्रसङ्ग, तीन जिज्ञासा


बुद्ध कि बुद्धू !

भगवान्प्रति आस्था राख्नु एउटा पक्ष होला तर आधुनिक समाजमा भगवान् नै बन्न खोज्नु अलिक अनौठो र रहस्यमयी कुरा हो। बाराको रतनपुरी हलखोरयिा जंगलमा रामबहादुर बमजन पाँच वर्षदेखि यही विस्मयी अनुष्ठानमा छन्। आफूलाई 'बुद्ध'का रूपमा प्रस्तुत गर्दै आएका बमजन एउटा तपस्वीभन्दा बढी प्रपोगान्डावादी हुन थाले। उनले आफ्नै अनुयायीका अगाडि तरबार नचाएको कुरा धेरैले बिर्सेका छैनन्। तरबार त नचाए नचाए, आफ्नो ध्यानमा दखल दिएको भन्दै दर्शनार्थीमाथि समेत हातपात पनि गरे उनले। त्यति मात्र होइन, उनले स्लोभाकियाबाट नेपाल आएकी मरचिी नामकी महिलालाई बन्धक बनाएको आरोप पनि खेपे। अझ यतिसम्म कि मरचिीको यौन शोषण भएको समेत चर्चा चल्यो। आफ्नै बहिनी रन्जितालाई पनि बमजनले बन्धक बनाएको प्रसंग धेरै पुरानो भएको छैन।

हुँदा हुँदा यिनै बमजनलाई धर्मका आधारमा नागरकिता दिइनुपर्ने भन्दै उनका अनुयायीहरूले आन्दोलन गरेछन्। राजमार्ग नै ठप्प पारेर गरएिको यस्तो आन्दोलनमा सहभागीहरूले बमजनलाई रातो पासपोर्टसमेत दिइनुपर्ने माग राखेका छन्। हलखोरयिा जंगलमा तपस्यारत भनिएका बमजनलाई धर्मका नाममा नागरकिता र पासपोर्ट किन चाहिएको रहेछ, त्यो भने केही खुल्न सकेको छैन। आफूलाई योगी, तपस्वी र बुद्धको सच्चा अनुयायी ठान्ने बमजनले ३३ कोटि देवताले पनि नमागेको कुरा माग्दै छन्। बुद्धले भएको घरबार र सुखसुविधा त छोडेर बोधिसत्व खोज्दै हिँडेका थिए भने यी 'नयाँ भगवान्'लाई चाहिँ सारा सुविधा किन चाहिएछ ! होइन, यी बुद्ध हुन् कि बुद्धू ? लौन खोजी गरौँ। 


Monday, April 16, 2012

तोड्ने कसम किन खानू ?


नयाँ वर्ष प्रारम्भ हुनुअघि सामाजिक सञ्जालका इन्टरनेट साइटहरूमा शुभकामना लिने-दिनेहरू बाक्लै छन्। कसैले कविता लेखेका छन्, कसैले महान्वाणीहरू उद्धृत गरेका छन्। र, कसैले आफ्ना अनुभव-अनुभूति। यस्ता सामग्रीका फेरोमा गहिरिए हेर्ने हो भने त्यहाँ 'न्यु इयर रिजोलुसन' अर्थात् नयाँ वर्षको अवसरमा प्रतिबद्धताहरू पनि त्यत्तिकै मुखरति छन्। कसमै खाएर आफ्ना खराब बानी र आचरण सुधार्छु भन्नेहरू पनि बग्रेल्ती छन्। कसैले मदिरा र धुम्रपान छाड्ने कसम खाएका छन् त कसैले अध्ययनलाई अघि बढाउने। कसैले जागिर खोज्ने प्रतिज्ञा गरेका छन् त कसैले समयको सदुपयोग गर्ने।

स्ट्याटसहरूमा लेखिएका कसमहरू साकार पारिए त राम्रै हो। तर, हरेक वर्षजस्तो उनै कसमहरू उनै व्यक्तिका स्ट्याटसमा दोहोरिएको देख्दा भने ताजुब लाग्छ। त्यसैले होला, पोखराका मित्र प्रवीण केसीले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, "पाँच वर्षदेखिका हरेक नयाँ वर्षमा मदिरा त्याग्ने कसम खाइयो। कहिल्यै छोडिएन। तर, यसपटक कुनै कसम खाइन्न। तोड्नु नै छ भने कसम किन खानू ?" केसीको कुरो मलाई पनि चित्त बुझ्यो है। तपाईंलाई कस्तो लाग्यो कुन्नि ?

Thursday, April 12, 2012

उफ् ~ अनिकालमा समय मानक - 069!

ओहो अर्को एक बर्ष वितेछ ठट्टै ठट्टैमा ! लेख्नु पर्ने भन्नु पर्ने या तिमिलाई सेयर गरिरहनु पर्ने खास त्यस्तो विषय छैन मसँग । विषयवस्तु र भावनाका हिसावले मेरा लागि यो सबैभन्दा अनिकालको समय हो । तर मानक बनेर उदाएको या अर्को अर्थमा टुङ्गीएको यो समय-सूचकलाई त्यति धेरै गम्भिर रुपमा लिनु छैन मैले ।
मान्छेहरु खुशीका लागि सानो कुरामा पनि संसार देख्छन् । सुक्ष्म कुरामा काव्य देख्छन् । र, एक पलामा पनि जीवन देख्छन् । दृष्टि कमजोर भएर हो या कोण बाङ्गो भएर हो मैले क्षितिजमा उदाएको सूर्य पनि देख्न छाडेको छु । अर्थात् सूर्यले मलाई नदेखेको पनि हुन सक्छ त्यसैले म उज्यालोको अनिकालमा छु ।
लाग्छ जव समयले मान्छेलाई दास बनाउँछ तव मान्छे बलियो हुन्छ । कम्तिमा उसको प्रतिरोधात्मक क्षमता बढोत्तरी हुन्छ । यस्ता मान्छेहरुसँग जिस्किनु या ख्यालठट्टा गर्नुको कुनै अर्थ हुदैन । अबका दिनमा स्वयं समयले पनि हेक्का राखोस् यस्ता पात्रहरु जव्वर हुन्छन्, निष्ठूर नै सही ।
कोलमा पेलिएर पीना परेका अभिष्टहरु कसैलाई उपहार दिनुको पनि अर्थ रहेन । त्यसैले म उपहारको अर्थमा पनि अनिकालमा छु । राजनीति, समाज, परम्परा, मूल्य र मान्यताजस्ता तमाम् ढोंगहरुको श्रृखंलामा उभ्भिएर फोकटको शुभशन्देशले न मलाई नेपर्छ न अरुलाई । जाँठो.. शन्देश शन्देशका रुपमा मात्र प्रवाहित हुन्छ । मिठा कुरा, रमाइला कुरा, रसिला कुरा,  हरिलाभरीला कुरा.. यि सबै युटोपियादेखि अलिक वर आएर अनिकालका कुरा बढि सान्दर्भीक छन् अहिले मेरो क्यालेण्डरमा । मितिहरु त केवल अंकहरु हुन् त्यस्ता अंकहरुले जसले निरिह क्यालेण्डरको कागजलाई थोत्रो बनाउँछन् मात्रै । त्यसैले अब मलाई भित्तातिर आँखा तिखारेर अर्थहीन अंकहरु हेरिरहनु छैन ।
नयाँ बर्षको शुभकामना चाहिन्छ भने अरुले नै पठाएको सन्देश हेर्नु तिम्रो मोवाइल म्यासेज वक्समा ! :))
धन्यवाद !

Friday, December 9, 2011

तिमि, म र गलबन्दी !

लिलि !
जाडो बढ्दो छ । र, भावना चिसिँदो । रातको यो सन्नाटामा एक्लै आकाशमा मुस्कुराइरहेको चन्द्रमा पनि कठ्याङ्ग्रीएको छ कि ! भलै यसले धोल्लिएको झ्यालको पर्दाको चेपबाट चियाइरहेछ टेबुलमा रहेको मेरो गलबन्दी । र, त मैले देखेको छु गलबन्दीको आवरण, यसको रंग र यसको आभा । फेरोमा सोच्दैछु म र मेरो गलबन्दी उस्तै उस्तै छौँ । विछिप्त मुर्छनासहित बडो थकितजस्तो देखिन्छ तिमिले काठमाण्डुको जाडो छल्न किन्दिएको यो झालेमाले गलबन्दी । यसको दशा भनौं या हाम्रो समय, किनेको हप्ता नहुदै यसले शिशिरको फूलको नियति भोग्दैछ । श्रबण मुकारुङको कविता "फूलको कथा"को मर्मान्तजस्तै । त्यसैले त मैले कतै लेखेको थिएँ "तिमिले दिएको गलबन्दीले काठमाण्डुको जाडो छल्ने भएन । आकाशको चन्द्रमा देखिने प्वाल पर्न थाले यसमा ।"
मन थामिएन गलबन्दीको दुर्दशा देखेर । अहँ ! पटक्कै थामिएन । र, बिथल्यो यसले मेरो मनोदशा । थोरै अपमान, थोरै अभिमान र केही तिम्रो सम्झना मिश्रीत अनौठो भावमा रन्थनिदै हिजो दिनभर म यता र उता गरिरहेँ । मेरो मनमा कुनै सुनाखरी फुलेन, न त कुनै लालुपाते नै । त्यसैले होला तिम्रा केही विम्बहरुमा रुमल्लिरहेँ म । तिमिसँगका केही क्षणहरु या तिम्रा उपहारहरुको अर्थमा घोल्तिइरहेँ म । परिस्थिति र सन्दर्भहरुमा अल्झिरहेँ नारायण गोपालको गीत "अल्झेछ क्यारे पछ्यौरी चियाको बोटैमा~" जस्तै ।
गलबन्दी, तिमि र म । त्रिकोणिय प्याराडक्स । यो यति अमूर्त बन्यो कि जहाँ कुनै गणित भेटिन्छ न कुनै मिथक । यहाँ न कुनै सम्बन्धको सिमाना देखिन्छ न भावनाको सरल आयाम । सायद हामी त्यो विन्दुमा आइपुग्यौं जहाँ हामीले संवेदेनाभन्दा बढी विचारको स्थान कायम गर्न सकेनौँ । १०० मा १०० प्रतिशत केही नहुने संसारमा बाँचेर हामीले एकअर्कामा १०० प्रतिशत खोज्यौं । त्यति नै अपेक्षा गर्यौं । त्यसरी नै बुझ्यौं । र, त्यसले हाम्रो सोच्ने मस्तिष्कलाई चौडा र अनुभूत गर्ने मुटुलाई ओजदार बनाएन । सोचमा खुम्चियौँ र अनुभूतिमा गहिरियौं । सबैभन्दा ठुलो कमजोरी यहीनेर रह्यो । तिमि मान या नमान, माया भनेको यति सघन अमूर्त कुरा हो जहाँ हामी सानोभन्दा सानो कुराको पनि अर्थ खोज्छौँ । परिमाण बस्तुगत भए पनि अर्थ खोज्छौ अवस्तुगत वा उडन्ते भए पनि अर्थ खोज्छौं । अझ मूल्य पनि खोज्छौँ । आफैले घटनाचक्रलाई व्याख्या गर्छौ र मनोगत रुपमा दुखि या खुशी बन्छौं । यो नै प्रेममा सबैभन्दा खराब सुत्र हो ।

Thursday, December 1, 2011

म गरीब छैन !



जब चेप फोरेर निस्कन्छ मेरो मुस्कान
पिपलजस्तै दिर्घायु
र, फैलन्छ सिनो सुकेको घाममा
***
त्यतिबेला बाजहरु मेरा धुजिएका लुगा हेर्दैनन्
मेरा धोल्लिएका टाँकहरु हेर्दैनन्
हेर्दैनन् मसँगको आदिम हतियार
बाजहरु मेरो मुस्कानमा इष्र्या गर्छन्
र, थुक निल्छन् घुटुक्क !
***
जव चल्छन् उनीहरुले बनाइदिएको कृर्षी सडकमा, मेरा नग्न खुट्टा
भुकम्प जस्तै काँप्छ जमीन, उड्छ धुलो
चश्माधारीहरुले मेरो डोकाको अँखेटा चिहाऊन सक्दैनन्
सक्दैनन् नाम्लाको बरियाको लम्वाई भेउ पाउन
चश्माधारीहरु मेरो नजरको ईष्र्या गर्छन्
र, थुक निल्छन् घुटुक्क !